नियम १८८
साविक र हालवालाको बरबुझारथ
: प्रहरी चौकी, इलाका प्रहरी कार्यालयदेखि लिएर प्रहरी प्रधान कार्यालयसम्मको प्रमुखको जिम्मामा रहेको नगदी, जिन्सी, हातहतियार, कागजात इत्यादि जे–जति छ त्यो सबै साविकवालाले हालवालालाई बुझाउनु पर्दा देहाय बमोजिम गर्नु पर्नेछ :–
(क) हालवालाले बहाली गर्ने दिनको सूचना साविकवालालाई सकेसम्म चाँडो दिनु पर्नेछ र साविकवालाले पनि त्यही दिनदेखि जिम्मा बुझाउन तयार रहनु पर्नेछ ।
(ख) बरबुझारथ गर्न चाहिने आवश्यक समय प्रहरी महानिरीक्षकको निमित्त नेपाल सरकारले तोके बमोजिम र अरु प्रहरी कर्मचारीको हकमा सामान्यतया १५ दिनको हुनेछ र सो समयभित्र बरबुझारथ गर्नु पर्नेछ ।
(ग) खण्ड (ख) मा तोकिएको समयभित्र कुनै विशेष कारण परी बरबुझारथ गर्न नभ्याएमा एक पटकको लागि एक्काईस दिनमा नबढ्ने गरी एक तह माथिको तालुक कार्यालयले समय थप गर्न सक्नेछ ।